दुधको तीन थरी मूल्य, सबैभन्दा महंगो उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा

काठमाडौं, २८ माघ । दुग्ध विकास संस्थान ( डीडीसी) ले बढाएको दुधको उपभोक्ता मूल्य शुक्रवारदेखि लागू भएको छ ।

डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो।

बढेको ९ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ ।

त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ।

डीडीसीले बिक्री गर्ने गाईको दुध (पहेँलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ। अब यस्तो दुधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ।

काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम हुनेछ।

यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो। बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई ४८ पैसा उद्योगीले पाउनेछन्।

यस्तै पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दुधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ। काठमाडौंमा यस्तो दुधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ। विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ।

आर्थिक वर्ष २०६७/६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैयाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो।

२०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौ २१ गते ७६ रुपैयाँ कायम गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here