शर्त नै शर्तले बेरिएको एमसीसीको ‘व्याख्यात्मक टिप्पणी’ अमेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ ?

काठमाडौं, १५ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी मेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ भनी प्रश्न गरेका छन् ।

आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले सांसद भेडाबाख्रा नभएर जनप्रतिनिधि भएको भन्दै शर्त नै शर्तले बेरिएको एमसीसी मान्य नहुने बताएका हुन् । उनले स्वार्थ राखेर दिएको कुनै सहयोग परियोजना स्वीकार्य नभएको पनि बताए ।

सांसद खनालले विकसित मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूलाई सहयोग गर्नैपर्ने भएकाले सहयोग परियोजना पाउनुपर्ने नेपालजस्तो देशको हक अधिकार भएको तर्क गरे । तर, सहयोग भन्दैमा अमेरिकाको कानुन मान्न नसकिने उनले उल्लेख गरे ।

नेपालको स्वाभीमानलाई तलमाथि पारेर दिएको सहयोग नलिने पनि खनालले बताए । सम्मान गरेर दिएकाे मुलुकको स्वाधीनताको रक्षा हुने भए जतिसुकै सहयाेग रकम लिने उनको भनाइ छ ।

१९५ वटा देशहरूसँग कुनैलाई शत्रु ठानेको छैन। अमेरिकासँग पनि ७० वर्षदेखि सहकार्य गरिरहेका छौँ। हामी सहयोग लिन्छौँ। जुन सहयोग सम्मान र नेपालको स्वतन्त्रतालाई सम्मान गरेर दिएको सहयोगलाई लिन्छ। एमसिसी सम्झौतालाई शर्त नै शर्तले बेरिएको छ। त्यो शर्त अमान्य छ।’

उनले अमेरिकाले हङकङ, तिब्बत, ताइनवानजस्ता ठाउँका लागि कानुन बनाइरहेको भन्दै अमेरिकाको कुरा मान्दै जाने हो चीनसँगको सम्बन्ध कस्तो हुन्छ भन्दै प्रश्न गरे ।

आफूहरू अर्ब मात्रै नभएर १ खर्ब दिए पनि स्वीकार्न तयार रहेको बताउँदै नेपालको स्वाभिमानविपरीत कसैको एक पैसा नचाहिने उनले बताए। एमसीसी सम्झौता लागू भएपछि अमेरिकाकै कानुन हुने व्यवस्था गरेको उल्लेख गरे।

नेता खनालले भने, ‘व्याख्यात्मक टिप्पणी गरेर पास गर्ने कुरा आइरहेको छ। त्यसको ग्यारेन्टी के छ? यसको कुनै कानुनी आधार छैन।

एकतर्फी रुपमा सभाले घोषणा गर्न मिल्दैन। संशोधन गर्न अमेरिका र एमसीसी थाहा छ कि छैन। त्यो कुरा संसदले थाहा पाउन पर्छ। त्यो थाहा भएपछि मात्रै अगाडि बढाउनेबारे सोच्न सक्छौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here