‘एमसीसी नेताहरूले नै गिजोलेर बाँदरको घाउ बनाए, राष्ट्रहितमा छ सबैले स्वीकार गरौं’

काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै भट्टराईले नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताए ।

‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ ?’ भनेर प्रश्न गरे ।

भट्टराईले जनताको सार्वभौम अधिकारमा हनन् भएको भन्दै क्षमा समेत मागे । ‘जनताको सार्वभौम सत्ता प्रतिनिधिसभामार्फत् अभिव्यक्त हुन्छ ।

म दुःखका साथ भन्छु, गत ६ महिनादेखि प्रतिनिधिसभालाई जसरी बन्धक बनाएका छौं, यसले जनताको सार्वभौम अधिकारको अपमान भएको छ, म क्षमा माग्न चाहन्छु,’ उनले भने ।

उनले एमसीसीलाई बद्लिदो भू–राजनीतिको शिकार बनाउन खोजिएको भन्दै त्यसमा चनाखो हुन आवश्यक रहेको बताए ।

‘म नैतिक जिम्मेवार लिन्छु,’ उनले भने, ‘कसरी राष्ट्रघाती छ एमसीसी ?’ उनले नेपालको पूर्वाधार विकास गर्ने एमसीसीको तुरुन्तै पारित गरिनुपर्ने बताए।

‘एमसीसी एउटा सामान्य अनुदान सम्झौता थियो । यसलाई ठूलो बनाइयो,’ उनले भने,‘सामान्य घाउ कोट्याउन थालियो । हामी आपसमा लड्दैछौं ।’ उनले एमसीसी नेपालको हितमा भएको र विकासको बाटोमा भएको बताए ।

एमसीसीको विरोध गर्ने दलहरूले जनतालाई अतिरञ्जित तरिकाले भ्रममा पारेको आरोप लगाएका हुन् ।

‘एमसीसीबारे तलसम्म यति विषाक्त प्रचार गरिएको छ कि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जान नसकिने अवस्था छ ।

ढिलै भए पनि साथीहरुले व्याख्यात्मक टिप्पणीमार्फत् एमसीसी पारित गर्ने कुरा गर्नुभएको छ,’ भट्टराईले भने, ‘पहिला आफैंलाई जनताको बीचमा जान नसकिने गरी वातावरण विषाक्त गर्नुभयो, अहिले पातलो लँगौटी लगाएर जनतामा लाज छोप्ने काम गर्नुभएको छ उनले भने’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here