मुद्रास्फीति ५.९७ प्रतिशत, तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

काठमाडौं, २७ फागुन । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ७ महिनाको तथ्यांक अनुसार माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ ।

२०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री
उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ माघमा यी क्षेत्रहरुमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १२.०९ प्रतिशत, ९.९२ प्रतिशत र ७.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १६.६१ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here