आजदेखि तीन दिन लगातार वर्षा, सबैजसो नदीमा बाढीको सम्भावना

फाइल तस्वीर

२५ असार, काठमाडौं । बुधबारदेखि लगातार तीन दिनसम्म हुने वर्षाका कारण देशभरका नदीमा उच्च वहाव देखिने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार सबेरै विशेष बुलेटिन प्रकाशित गर्दै अबको तीन दिन लगातार वर्षातको सम्भावना रहेको उल्लेख गरेको हो ।

मनसुन न्यून चापीय रेखा नेपाल नजिकै रहेका कारण वर्षा लगातार हुने भएको हो । यसको असर नेपालका अधिकांश भूभागमा देखिने भएको छ ।

एक दुई स्थानमा अत्यन्तै धेरै वर्षा हुने अनुमान समेत महाशाखाले गरेको छ । महाशाखाको तीन दिनको मौसम पूर्वानुमान अनुसार बुधबार देशका धेरै स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पनि सोही प्रकृतिको मौसम रहने बताइएको छ । शुक्रबार समेत बुधबार कै शैलीमा प्रकृतिले आफ्नो स्वरुप देखाउने छ ।

# सबैजसो नदीमा बाढीको सम्भावना

विभागको बाढी सम्बन्धी बुलेटिन अनुसार पहाडमा भारी वर्षाका कारण तराई भेगका जिल्लामा अकस्मात ठूलो बाढीको सम्भावना छ ।

चितवन, नवलपरासी, रुपन्देही, दाङ, बाँके, बर्दियालगायत जिल्लाका साना खोलामा एक्कासी बाढी आउन सक्ने भन्दै विभागले सचेत रहन आग्रह गरेको छ ।

बुधबार देशैभरका सबै प्रमुख तथा मझौला नदीमा बहाव बढ्ने भएको छ । तर, सतर्कता तह भने पार नहुने विभागको बुलेटीनमा उल्लेख छ ।

बुधबार प्रदेश २ मा आकस्मिक बहाव बढ्ने र नदीमा जोखिम हुने विभागको भनाई छ र बिहीबार भने कन्काई, कोशी, कमला, बागमति र नारायणी नदी तथा आसपासका सबै साना खोलामा पानीको उच्च बहाव आएर जलसतह सतकर्ता तह पार हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here