दुर्गम क्षेत्रका विद्यार्थीलाई असारभित्रै नि:शुल्क इन्डक्सन चुलो बाँडिने, ८ हजारको आवेदन

काठमाडौं, १७ चैत । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले असारभित्रै अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँड्ने तयारी थालेको छ ।

प्रवर्द्धन केन्द्रले दुर्गम क्षेत्रका विद्यार्थीहरूको लागि ल्याएको कार्यक्रममा आवेदन दिएको ८ हजार जनाको लागि आर्थिक वर्ष भित्रमा नै चुलो वितरण गर्ने तयारी थालेको हो ।

उक्त योजना अनुरुप नै चुलो वितरणको लागि टेण्डर आह्वान गरिसकेको केन्द्रका वरिष्ठ अधिकृत डा. कुन्दन पोखरेलले क्लाउड पत्रिकालाई बताए ।

‘यो आर्थिक वषभित्रमा नै वितरण गर्ने गरि मार्च २२ गतेदेखि अप्रिल २१ सम्मको लागि टेण्डर आह्वान गरेका छौं ।

टेण्डरको प्रक्रिया टुंगिने वित्तिकै चुलो वितरणको प्रक्रियामा जानेछौं, इन्डक्सनका लागि आवेदन दिनको संख्या ८ हजारको हाराहारीमा रहेको छ, उनले क्लाउड पत्रिकासँग भने ।’

‘पहिलो चरणमा माग विश्लेषण गर्ने प्रयोजनका लागि पनि निवेदन माग गरिएको थियो । सोचेभन्दा धेरैको आवेदन परेको छ । आवेदनको माग अनुसार नै चुलो वितरण गरिनेछ पोखरेलले भने । जसबाट दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ अध्ययन गर्ने विद्यार्थीहरू लाभान्वित हुनेछन् । ‘

‘बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी केन्द्रले यस्तो कार्यक्रम ल्याएको हो,’ पोखरेलले भने ।

प्रवर्द्धन केन्द्र विद्युतीय चुलो प्रयोगमा ल्याउने दीर्घकालीन लक्ष्यको साथ अघि बढरिहेको छ । जनचेतनाको कमीको कारण पनि चुलो प्रयोग गर्नेको संख्या कम रहेकाले चर्चित कलाकारलाई समेटेर भिडियोसहितको चेतनामूलक कार्यक्रमहरु समेत केन्द्रले अघि बढाएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नि:शुल्क इन्डक्सन लिन चाहने विद्यार्थीहरुलाई फागुन २५ गतेसम्म निवेदन माग गरेको थियो ।

विद्युतीय चुलोका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिसपत्र मागेको थियो ।

प्रवर्द्धन केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको लागि यस्तो कार्यक्रम ल्याएको थियो ।

दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here