तीन दिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री, वनारस पुगेर योगी आदित्यनाथसँग पनि भेट्ने

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गर्दैछन् ।

कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भारत जान लागेका हुन् । भारतमा रहँदा उनले वनारस पुगेर उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथलाई समेत भेट्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाल एयरलाइन्सको जहाजबाट उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । उनी विमानस्थलबाट चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्नेछन् ।

देउवालाई आजै सोही होटेलमा भारतीय विदेशमन्त्री एस जयशंकरले भेट्ने छन् । शुक्रबार नै देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) केन्द्रीय कार्यालय जाने कार्यक्रम छ । प्रधानमन्त्री देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् । दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनेछन् ।

शनिबार बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने छन् । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्ने छन् । हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने छ । शनिबार दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ ।

भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ । संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

शनिबारसाँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने छन् ।

बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here