गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्।

बालुवाटार स्रोतको अनुसार अधिवक्ता बन्दीलाई कानून मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष सिफारिश गरेका हुन्। अधिवक्ता बन्दी सांसद छैनन्।

संविधान अनुसार, बन्दी अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् । संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ।

गैह्र सांसद मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता नलिए मन्त्री पद स्वत: खारेज हुन्छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै, अहिले कानून मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

आजै पद तथा गोपनीयताको शपथका लागि तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here