निर्वाचन आचारसंहिता लागू, झोला, टिसर्ट जस्ता सामाग्री छाप्न र वितरण गर्न रोक (पूर्णपाठ)

काठमाडौं, २५ चैत । निर्वाचन आयोगले शुक्रवार राति १२ बजेबाट लागु हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

आयोगले पत्रकार सम्मेलन गरेर आचारसंहिता जारी हुनेबारे जानकारी गराएको हो ।

आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन ।

आचार संहिताले राजनीतिक दल वा उमेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टि-सर्ट, टोपी वा क्याप, गम्छा, माक्स, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, दयाद जस्ता साङ्केतिक सामाग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।

दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ । ३५ दिन सरकार, सरकारी कार्यालय, राजनीतिक दल, तिनका उम्मेदवार, नेतादेखि सञ्चारमाध्यमसम्मले आचार संहित पालना गर्नुपर्दछ ।

आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कारबाही पनि गर्दछ । यसअघिभन्दा आयोगले यसपटक आचार संहितामा निकै कडाई पनि गरेको छ ।

सरकारले आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाउँछ ।

आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत नपाइने उल्लेख छ । त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन । आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन ।

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान पनि छ ।

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

आयोगको आचारसंहिता अनुसार उम्मेदवारले ‘ए(फोर’ आकारको कागजमा आफ्नो बायोडाटा वितरणमा भने रोक लगाएको छैन ।

चुनावका लागि आयोगले हेलिकोप्टर प्रयोगमा रोक लगाएको छ । तर, दलका मुख्य प्रचारकका लागि भने हेलिकोप्टर प्रयोग गर्न सक्ने खुकुलो व्यवस्था पनि आचारसंहितामा राखेको छ । आचारसंहिताअनुसार साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगालगायतका सवारीसाधन चुनाव प्रचारमा प्रयोग गर्न भने पाइँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here