प्रचण्डको ६ बुँदे सर्कुलर, प्रत्येक जिल्लामा एक पालिका प्रमुख र एक वडाध्यक्ष महिला अनिवार्य

काठमाडौं, २९ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचन केन्द्रीत ६ बुँदे विशेष सर्कुलर जारी गरेका छन् ।

केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाएका हुन् ।

सर्कुलरमा दाहाल प्रचण्डले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने, ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पार्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिनु पर्ने उल्लेख गरेका छन् ।

स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न देशभरका जिल्लाका कम्तिमा एक गाउँपालिकाको प्रमुख र पालिकाभित्र कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।

सर्कुलरमा वैशाख ५ गतेभित्र सबै स्थानीय तहको उम्मेदवार टुंग्याउन पनि निर्देशन दिइएको छ।

माओवादीले उम्मेदवार सिफारिसको विधि र प्रक्रियासमेत तय गरेको छ।महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एकरएक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ। केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्ने छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here