रु.१३ खर्ब ८ अर्बको सामान भित्रिँदा निर्यात रु.१ खर्ब ४७ अर्ब ४७ करोड मात्र, व्यापार घाटा ३४ प्रतिशत वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल १ खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

जवकी सोहि अवधिका नेपालमा १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको सामान भित्रिएको छ ।

जसबाट नेपालले ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । जुन अघिल्लो आवको सो अवधिको तुलनामा ३४ दशमलव ५ प्रतिशतले बढी हो ।

अघिल्ल्लो बर्षको समिक्षा अवधिमा व्यापार घाटा १ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको छ ।

सो अवधिमा वस्तु निर्यात ८२ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आवको ८ महिनामा गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४ दशमलव २ प्रतिशत र २९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

चीनतर्फको निर्यात ११ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाकोतार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै आठ महिनाको अवधिमा कुल वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ दशमलव १ प्रतिशतले बढेको थियो ।

विशेषगरी भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८ दशमलव १ प्रतिशत, ३६ दशमलव ७ प्रतिशत र ७५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुनलगायत वस्तुको आयात बढेको छ ।

यता एम।एस।विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायत वस्तुको आयात भने घटेको देखिन्छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here