तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन, एक वर्षमा एक पालिकामा मात्र शाखा विस्तार

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७८ फागुन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १७, वित्त कम्पनीको संख्या १७, लघुवित्त वित्तीय संस्थाको संख्या ६६ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार २ सय १५ वटा पुगेको छ । गत असार मसान्तसम्म शाखा संख्या ९ हजार ७ सय ६५ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

फागुनसम्म वाणिज्य बैंकको शाखासंख्या ४९३० रहेको छ । विकास बैंकको १०८६ वित्त कम्पनीको २५७ र लघुवित्त वित्तीय संस्थाको ५०७६ शाखा रहेका छन् ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ फागुन मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/ प्राप्ति प्रक्रियामा सामेल भएका छन्।

यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् ।

तीन पालिकामा अझै पुगेन बैंक

देशका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ फागुनसम्ममा देशका तीन स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । अघिल्लो वर्षको सोही अवधिसम्म देशका ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।

राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको भए पनि अझै त्यो पूरा हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here