परिवार दल र राप्रपा नेपालसँग एमालेको चुनावी गठबन्धन, दुवैले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने

काठमाडौं, ३० चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको छ । बुधबार काठमाडौंमा दुइ दलसँग एमालेले चुनावी गठबन्धनको लागि सहमति गरेको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालयमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा तालमेल गर्ने सहमति भएको हो ।
राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

त्यस्तै आजै नेकपा (एमाले) र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलबीच चुनावी गठबन्धन हुने भएको छ । बुधबार एमाले र परिवार दलबीच पाँचबुँदे सहमति भएको हो ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरे । यो सहमतिसँगै अब राप्रपा नेपाल र परिवारदल दुवैले स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here