पारिवारिक घुमघामका लागि रमाइला ठाउँको खोजीमा हुनुहुन्छ ? यी हुन् आकर्षक गन्तव्य

काठमाडौं । वि.सं. २०७८ को विदाइसँगै २०७९ को स्वागतको लागि यतिबेला उल्लास देखिएको छ ।

नयाँ वर्षलाई हामीमध्ये धेरैले जीवनमा नयाँ संकल्प र शुरुवात गर्ने प्रस्थानविन्दु बनाउँछौं । घुमफिरका पारखीले नयाँ–नयाँ ठाउँ घुम्न मौका छोप्ने समय पनि हो, यो ।

फुर्सद मिल्दा व्यस्त जीवनबाट आक्रान्त बनेको मान्छे प्रकृतिकै काखमा टहलिन रुचाउँछ र प्रकृतिकै काखमा पुग्छ विश्राम लिन। यति बेला पनि धेरै जना नयाँ गन्तव्यको खोजी गर्दै नयाँ वर्षलाई स्वगत गर्ने योजनामा हुन सक्छन्।

गर्मीको तापक्रम हुने यतिबेलाको मौसम घुमघामको लागि उपयुक्त हुन्छ । प्रकृतिले पालुवा हाल्ने यो वसन्त ऋतुमा सबैतिर हरियो–परियो देख्न पाउनु घुमघामका पारखीलाई बोनस पनि हो ।

टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ । आकारमा सानो र आर्थिक हिसाबले गरिब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ ।

त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तव्यहरु छन् । नयाँ वर्षमा मान्छेमा नयाँ उमंग हुन्छ। नयाँ योजना हुन्छ। वर्षभरिको कार्यव्यस्तताले थकित मान्छे नयाँ वर्षलाई नयाँ स्थानमा घुमफिर गर्दै रमाइलोसँग मनाउने योजनामा हुन्छन्।

यदि तपाइहरु त्यही सोचमा हुनुहुन्छ र रमाइलो गन्तव्यको खोजीमा हुनुहुन्छ भने २०७९ मा यी स्थान उपयुक्त गन्तव्य हुन सक्छन्।

चन्द्रागिरि

शहरबाट नजिक सुविधा सम्पन्न गन्तब्य हो, चन्द्रागिरि । कम्तिमा एक दिनको घुमघामलाई अविष्मरणीय बनाउन यो गन्तब्य उपयुक्त हुन सक्छ ।

समुन्द्री सतहबाट २५५१ मिटर अग्लो यो चुचुरो पुग्दा काठमाडौं उपत्यकाको धुलो धुवा र प्रदुषणबाट मुक्ति मिल्छ । यहाँसम्म पुग्न चन्द्रागिरि हिल्स प्रालिले केवलकार संचालनमा ल्याएको छ । थानकोटबाट हिड्दै पनि यो डाँडासम्म पुग्न सकिन्छ ।

नगरकोट

नगरकोट राजधानी काठमाडौं नजीकैको प्रसिद्ध रमणिय पर्यटकिय स्थल हो। नगरकोट काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा रहेको छ।

नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ।

यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन्। नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन् । आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ । नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

ककनी

ककनी पनि राजधानी नजिकैको आकर्षक पर्यटकिय गन्तव्य हो। ककनी नुवाकोट जिल्लामा पर्छ। यो काठमाडौंबाट २० किलोमिटर दूरीमा छ। यो स्थान समुद्री सतहबाट २२०० मिटरको उचाइमा छ। यो ठाउँ स्टेबरीको पनि लागि प्रसिद्ध छ।

त्यसैगरी ट्राउट माछा खान मन पराउनेहरुका लागि पनि यो उपयुक्त गन्तव्य हो। काठमाडौंबाट एक रात बस्ने वा उही दिन गएर आउनका लागि यो एउटा राम्रो घुमघाम गर्ने स्थान हो।

बासका लागी पनि सुविधायुक्त होटलहरु छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।

बालाजुपार्क– बालाजु

बाईपासमा रहेको बालाजुपार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो । यद्यपी यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ।

बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो । सिरियस सम्बन्धमा भएका व्यक्तिहरुका लागि यहाँको वातावरणले आकर्षण गर्छ ।

त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो ।

टौदह

काठमाडौंबाट टौदहमा पुगेर रमाउन धेरै समय छुट्टाउनु पर्दैन । काठमाडौंबाट नजिकै रहेको यो स्थान अत्यन्तै रमणीय छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिकामा पर्छ ।

काठमाडौंको पुरानो बसपार्कबाट दक्षिणकालीको बस चढेर टौदह पुग्न सकिन्छ । पुरानो बसपार्कबाट सात किलोमिटर मात्र यात्रा गरेपछि पुग्न सकिने टौदह काठमाडौं उपत्यका भित्रको सबैभन्दा ठूलो ताल मानिन्छ ।

पर्यटनका लागि उपयुक्त स्थानका रुपमा टौदहलाई मानिन्छ । यस तालमा नजिकै रहेको चम्पागिरी पहाडको छाया देख्न पाइन्छ ।

सदर-चिडियाखाना

जनावर तथा पंक्षीको अवलोकन र परिवारिक घुमघामको लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरुको संख्या पनि धेरै छ । शितल र रमणीय स्थल भएकाले धेरै परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरुमा भुलिने गर्छन ।

धुलिखेल

धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ । यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।

सेतो गुम्बा

काठमाडौंको रामकोट ८ डाँडा गाउँमा रहेको सेतो गुम्बा शान्त वातावरण भएको वाइट गुम्बा जोडीहरुका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीहरुले रोज्ने गर्छन ।

यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन खुबै मजा आउँछ ।

फूलचोकी

फूलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो स्थान पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फूलचोकी काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो स्थान हो । तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालहरु सम्मको दृश्यावलोकन फूलचोकीको प्रमुख विशेषता हो ।

चोभार

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।

जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरु छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि प्रख्याती कमाएको यो स्थान सुनसान र एकान्त छ ।

भोटेचौर

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।

चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा अविस्मरणीय हुन्छ ।

ललितपुरको बज्रवाराही

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।

उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ ।

प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।

चम्पादेवी

चम्पादेवी पछिल्लो समय हाइकिङका लागि प्रसिद्ध हुँदै गएको छ । मन्जुश्रीले तपस्या गरेको ठाउँमा चम्पादेवीको मन्दिर रहेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको चम्पादेवी क्षेत्रमा ऐतिहासिक चम्पादेवी पार्क पनि निर्माण भइरहेको छ । चम्पादेवीको डाँडाबाट सर्वोच्च शिखर सगरमाथासहित १२ वटा हिमालहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

चम्पादेवी घुमघामका लागि उत्कृष्ट समय हो । काठमाडौंको दक्षिणतिर रहेको समुद्र सतहबाट २ हजार २ सय ५० मिटर अग्लो पहाडी थुम्को चम्पादेवी पुग्न काठमाडौंको फर्पिङ, कीर्तिपुरको पुष्पलाल पार्क, चाल्नाखेलको बोसनबाट पदयात्रा सुरु गर्न सकिन्छ । पदयात्रा, दृश्यावलोकन र प्राकृतिक सौन्दर्यको अनुभव लिन चम्पादेवी उत्कृष्ट गन्तव्य हो ।

दामन/चित्लाङ

मकवानपुर जिल्लामा पर्ने यी दुई गन्तब्य गर्मी मौसममा गर्मी छल्दै चिसोको आनन्द लिने आकर्षक गन्तब्य हुन् । २३२२ मिटर अग्लो दामनमा बैशाख, जेठमा पनि बिना ज्याकेट बस्न सकिन्न ।

खासगरी काठमाडौं, हेटौडा र प्रदेश नम्बर दुईका तराईका जिल्लाबाट पनि नजिकको शितल गन्तब्य हो । यी शहरबाट कम्तिमा दुई रात तीन दिनको प्याकेजमा आउने हो भने दामन र चित्लाङको मज्जा उठाउन सकिन्छ । चित्लाङ आकर्षक गाउँ हो । यहाँ होमस्टेको पनि व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here