उपभोक्ताको खल्ती निर्चोदै कागती: एक महिनामै तेब्बर बढ्यो, गोटाकै ३० रुपैयाँ !

अर्जुन न्यौपाने

काठमाडौं, २ वैशाख । पछिल्लो समय बजारमा कागतीको मूल्य अत्यधिक वृद्धि भएको छ। गर्मी सिजनमा कागती बढी प्रयोग हुने गरेकोले यतिबेला बजारमा कागतीको माग र मूल्य दुबै बढेको हो।

एक महिनाको अवधिमा कागतीको थोकमूल्य नै प्रतिकेजी ३५० रुपैयाँ पुगेको छ । एक महिनामा कागतीको मूल्य प्रतिकेजी १६० रुपैयाँ बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका तथ्यांक अनुसार चैत १ गते कागतीको मूल्य प्रतिकेजी १९० रुपैयाँ रहेको थियो ।

गतवर्ष यसै समयमा कागती प्रतिकेजी २४५ रुपैयाँ रहेको थियो। पोहोरको तुलनामा पनि १०५ रुपैयाँ महंगो भएको छ ।

नेपालमा सिजन सकिएकाले कागती उत्पादन नहुनु र भारतमा मूल्य बढेकै कारण त्यसको प्रत्यक्ष नेपालमा परेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।

‘अहिले नेपाली बजारमा उत्पादन भएको कागती एक दाना पनि बजारमा आउँदैन् शतप्रतिशत भारतसँगै निर्भर छौं उनले क्लाउड पत्रिकासँग भने ।’

कागतीको आयात दैनिक रुपमा भइरहेको छ । नेपालको उत्पादन बजारमै छैन्, होटल रेष्टुरेन्ट र उपभोक्ताले घरमै पनि प्रयोग बढी गर्छन् । पानी चियाको साथै खानामा पनि कागतीको प्रयोग बढेपछि माग धेरै भएको हो श्रेष्ठले भने ।’

‘एक महिनाअघिसम्म २५ रुपैयाँ ४ गोटा कागती बेच्ने गरेका थियौँ’, एक व्यापारीले क्लाउड पत्रिकासँग भने, ‘अहिले गोटाकै २५ -३० रुपैयाँ बेच्दा पनि १–२ रुपैयाँमात्रै नाफा हुन्छ।’

चालू आर्थिक वर्षको ८ महिनामा मात्र नेपालमा करिब ७९ हजार केजी कागती आयात भएको छ ।

गत वर्ष सोही अवधिमा साढे ८१ लाख केजी कागती आयात भएको थियो । सोही वर्ष करिब एक करोड २५ लाख केजी कागती नेपाल भित्रिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here