काठमाडौं, २ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले घोषणापत्र सार्वजनिक गरेकी छन्।
शुक्रबार डंगोलले ८ खम्बे विकासको मोडलसहित ९ पुष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्।
उक्त घोषणापत्रमा डंगोलले अल्पकालीनदेखि मध्यकालीन र दीर्घकालीन योजना उल्लेख गरेकी छन्।
स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभलपमेन्टलाई उनले आठ खम्बे विकास मोडलको रूपमा अघि सारेकी छन् ।
जसअनुसार उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई अघि सारेकी हुन् । जुन योजनाअनुसार काम गर्दा काठमाण्डुलाई साँच्चिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन सकिने उनको दाबी छ ।