काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३३ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
बैंकले सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा वैशाख ९ देखि २०८० बैशाख ९ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २६ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४९ करोड ५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १६ करोड ५ लाख रुपैयाँ गरी कूल ३३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
उक्त लगानी रकम २०७९ वैशाख ९ गतेदेखि २०८० बैशाख ९ गते ३६६ दिनका मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।
बैंकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई वैशाख ६ गते ५ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।
यस्ता छन् शर्तहरुः
-आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ ।
-निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।
-रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।
-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने ।