नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, ६ वैशाख । नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशतले घटेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ३२ करोड रुपैयाँ घटेको छ ।

बैंकले चालु वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढे पनि खराब कर्जा बबढ्दा बैंकको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी डेढ अर्ब बढेर ६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको संचालन मुनाफा भने ८.७५ प्रतिशतले घटेर ४ अर्ब ७८ करोडमा सीमित भएको छ ।

१८ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ५३ करोड, रिटेन अर्निङमा २ अर्ब १६ करोड र सेयर प्रिमियममा ७४ हजार रुपैयाँ संचिति छ । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १६ करोड रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी १२.४७ रुपैयाँ घटेर २४.१६ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ। बैंकको नेटवर्थ १९०.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.८२ गुणा, आधार दर ८.२२ प्रतिशत, स्प्रेड दर ३.७३ प्रतिशत र सीडी रेसियो ९१.४७ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here