एनआईसी एशियाको बैंक खुद नाफा २० प्रतिशत बढ्यो, सबै परिसूचकहरू उत्साहजनक

काठमाडौं, ७ वैशाख । एनआईसी एशिया बैंकले चालू आ.व. २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

रिपोर्टमा बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएको छ । त्रैमाससम्ममा तीन अर्ब ६० करोड रुपियाँ नाफा गर्न सफल भएको छ । वित्तीय विवरणमा खुद नाफा २० प्रतिशतले बढेको देखिन्छ ।

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पुगेको छ भने खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन भएको छ ।

जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ, २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले जनाएको छ ।

बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंक आ.व. २०७८/७९ को दोस्रो त्रयमासमा पनि कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको बताइएको छ ।

एनआईसी एशियाको मुलुकभर ३५८ शाखा, ४७३ एटिएम, १०२ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङ सेवा रहेका छन् । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन आफू सफल भएको सो बैंकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here