‘सूचना प्रविधिलाई देश विकासको प्राथमिकताको आधारमा लिनुपर्छ’- सञ्चारमन्त्री कार्की

काठमाडौं, ७ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सूचना प्रविधिलाई देश विकासको प्राथमिक आधारमा लिनुपर्ने बताएका छन् ।

बुधबार क्यान इन्फोटेकको उद्घाटन गर्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् । सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास भएको बताए।

प्रमुख अतिथि मन्त्री कार्कीले क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा भए गरेका विकासलाई सुसूचित गराउने र यस क्षेत्रमा काम गरिरहेकाहरुको हौसला बढाउने काम गरेकोमा आयोजक क्यान महासंघको प्रशंसा गरे ।

कार्कीले निजी क्षेत्रसँग सरकार हातेमालो गर्न तयार रहेको बताए । निजी क्षेत्रले आईटीमा अर्बौं लगानी गरेर रोजगारी सिर्जना गरेको उनको भनाइ थियो ।

उनले देशको सबै भूभागमा गुणस्तरीय पहुँच पुर्याउन अझै आवश्यक रहेको बताए। उनले यसको लागि सुलभ पहुँच र डिजिटल साक्षरतालाई सरकारले प्राथमिकता दिएको समेत स्पष्ट पारे।

मन्त्री कार्कीले भने, ‘सूचना प्रविधिको विकासबाट मात्र दूरदराजसम्म कसरी पुर्याउनेमा ध्यान दिनुपर्नेछ र पर्यटनबाट जस्तै विदेश निर्यात गर्दै विदेशी मुद्रा कसरी आर्जन गर्न सकिन्छ भन्ने बारेमा ध्यान दिनुपर्नेछ।’

उनले यस क्षेत्रको विकास तथा प्रयोगबाट आर्थिक गतिबिधि बढेको र रोजगारी सिर्जना भएको भन्दै स्वास्थ्य, शिक्षा, कृषि लगायतका सेवा सहज र सरल भएको बताए। संचार मन्त्री कार्कीले सूचना प्रविधिलाई देश विकासको प्राथमिक आधारमा लिनुपर्ने भन्दै एकीकृत नीति बनाउने काम गरिरहेको जानकारी दिए।

उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार तयार पार्ने र मानव स्रोतको विकासमा सरकारले सहयोग पुर्याउने बताए। त्यसैगरी इन्टरनेटमा करको दर पुनरावलोकनका साथै नीति माग र गुणात्मक विकास गर्ने वर्तमान सरकारले नीति लिएको समेत बताए।

सरकारले पूर्वाधार र डिजिटल साक्षरताको विकासमा काम गरिरहेको उनको भनाइ छ । साथै उनले सञ्चार मन्त्रालयका अधिकांश काम अफिस अटोमेसन सिस्टमबाट हुने गरेको र सबै सरकारी निकायमा अफिस अटोमेसन सिस्टम लागू गर्दै जाने पनि बताए ।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोना महामारीबाट प्रभावित सुचना प्रविधि व्यवसायलाई यसले थप लाभ प्राप्त गर्न सघाउने अपेक्षा गरे। सरकारले गरेको नयाँ व्यवस्थाले गर्दा व्यवसायीले मोबाइल फोन ल्यापटप र प्रिन्टर आयातमा समस्या भोग्नुपरेको उनले गुनासो समेत गरे।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here