श्रीलंकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, कर्फ्यु आदेश जारी

काठमाडौं । श्रीलंकाको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो।

आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ। घटनाका बारेमा निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन्।

आर्थिक सङ्कटका कारण मुलुकमा अभाव र मूल्यवृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आएका आन्दोलनकारीहरूले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन्।

मुलुकमा आर्थिक संकट उत्पन्न हुनु, महँगी बढ्नु र वस्तु तथा सेवाको अभाव हुनुमा राष्ट्रपति नै दोषी रहेको उनीहरूको दाबी छ। आर्थिक अभावका कारण कतिपय अत्यवश्यक सेवा तथा वस्तु समेत अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन्।

सरकारी अधिकारीहरूले नै कतिपय औषधी, अत्यावश्यक अन्य विभिन्न सामानहरूको अभाव भएको जनाएका छन् छ भने दैनिक लामो समय विद्युत कटौती समेत भएको छ। आर्थिक संकटका कारण आन्दोलन सुरु भएपछि राजनीतिक संकट समेत उत्पन्न भएको छ। राजधानी कोलम्बोदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरूको झडपका क्रममा २९ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here