गठबन्धनबीच उपमहानगरलाई लिएर भएको विवाद साम्य, मिल्यो भागबण्डा

काठमाडौं, ७ वैशाख । सत्तारुढ गठबन्धनले बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबण्डा टुंगो लगाएसँगै उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।

दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । सहमति अनुसार नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।

नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ ।

यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

महानगरपालिका भागबण्डामा भने बुधवार नै सहमति जुटाएका थिए । जसमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगर दिने सहमति भएको छ ।

सहमति अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति भएको स्रोतले जनाएको छ ।

सत्तारुढ गठबन्धनमा भागबन्डा मिले पनि कांग्रेसका स्थानीय नेताहरु भने असन्तुष्ट छन्। पोखराका नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोखरा छोड्न नसक्ने बताएको थियो।

यस्तै, भरतपुरका नेताहरु पनि गठबन्धनको विपक्षमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here