मास्टर सेफको टोलीबाट नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धन

काठमाडौं, ७ वैशाख । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेका छन्।

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो।

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रुपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरको रुपमा नबिल बैंक र हेल्थ पार्टनरको रुपमा सिवेक हस्पिटलले सहयोग गरेका हुन्।

त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स्, सिद्धार्थ ग्रुप अफ होटल, जंगल सफारी रिसोर्ट, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, रामदेव आयल र हाइ ग्राउण्ड एडभेन्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका थिए।

चर्चित सेलिब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अंकित सेफ कोट पहिरनमा नेपालका विभिन्न गन्तव्यहरुमा मौलिक खानाको अवलोकन, अन्वेषण एवम् प्रवर्द्धन गर्नु, महत्वका साथ हेरिएकाे छ।

सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन नेपाली प्रचलनमा रहेका शब्दहरुको प्रयोग गर्दै आएका सन्दर्भमा कुनैपनि सभा समारोहमा उत्सवको रुपमा खानपिन सुरु गर्दा उच्चारण हुने अंग्रेजी शब्द ‘चीयर्स’को साटो नेवारी संस्कृति सगुनको रुपमा प्रदान गरिने ‘आयला’शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने, पर्यटकहरूलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवर्धन हुने बताउँदै ‘आयला’ सम्बन्धित सन्देशमूलक प्रचारात्मक भिडियो समेत सार्वजनिक गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here