सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच सम्झौता

काठमाडौं, ९ वैशाख । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअन्र्तगत बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका वेरोजगार व्यक्तिलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार व्यवसाय वृद्धि गर्न प्रति व्यक्ति २ लाख तथा समुहगत प्रति समुह अधिकत ३० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

युवा स्वरोजगार कार्यक्रम अन्तरगत कोषले बैंकलाई वार्षिक ४ प्रतिशतका दरले कर्जा प्रदान गर्नेछ भने बैंकले इच्छुक बेरोजगार व्यक्तिलाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महिना अवधिको लागि कर्जा उपलब्ध गराउने बताइएको छ । कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुवैको बैंकमार्फत बिमासमेत गरीदिने व्यवस्था रहेको छ ।

कर्जाको सावाँ तथा व्याज समयमै तिर्ने असल ऋणीलाई तिरेको व्याजको ६० प्रतिशतसम्मको रकम कोषले अनुदान फिर्ता समेत गरिदिनेछ ।

बैंकले आफ्नो कार्यक्षेत्रभित्र रहेका सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका २४ वटा शाखा कार्यालयमार्फत सो कर्जा लक्षित वर्गमा प्रवाह गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here