चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात

काठमाडौं, ९ वैशाख । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो ।

कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

तथ्यांक अनुसार यस अवधिमा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष कूल वैदेशिक व्यापार ३४.९१ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजार रुपैयाँको रहेको थियो ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले कूल १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६९.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले मात्र ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

९ महिनामै निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार हो ।

चैत मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो नौ महिनामा नेपालको आयात ३१.९७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here