स्थानीय तह निर्वाचन:मनोनयन दर्ताको अन्तिम दिन, मुख्य ठूला दल उम्मेदवार दर्ताको कसरतमा

काठमाडौं, १२ वैशाख । स्थानीय तहको निर्वाचनका लागि सोमबार पनि मनोनयन दर्ता हुँदैछ । आइतबार मनोनयन दर्ता सुरु भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले मनोनयनको लागि आइतबार र सोमबारको समय दिएको थियो।

साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार ५ सय २३ जनाको मात्र उम्मेदवारी परेको छ । बिहान १० देखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै साँझ प्रकाशन गरिनेछ । सूची प्रकाशनपछि भने १३ वैशाखमा उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

१४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँच बुझ गरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार १७ वैशाखमा उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here