टेस्लाका मालिक एलन मस्कले ४४ अर्ब डलरमा किने ट्वीटर

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक तथा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सामाजिक संजाल ट्वीटरको सबै सेयर स्वामित्व किन्ने भएका छन् ।

दुई साता अघि ट्वीटरको ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार सबै स्वामित्व ४४ अर्ब डलरमा किन्ने भएका हुन् । उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन्।

मस्कले दुई साताभन्द कम समयअघि सबैलाई चकित पार्दै ट्वीटरको बोली लगाएका थिए। उनले त्यसबेला ट्वीटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए।

उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए। कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो। तर अब उसले सेयरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ।

विश्वकै धनी

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ। उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।

उक्त सम्झौताको घोषणा गर्दै मस्कले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्वीटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ।’

‘नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्वीटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,’ उनले भनेका छन्।

‘ट्वीटरमा व्यापक सम्भावना छ , त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु।’ ट्वीटरमा देखापर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियमनकर्ताहरूको दबाव परिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो।

ट्वीटरमा गलत सूचना फैलिने क्रमलाई रोक्न नसकेको भन्दै दक्षिणपन्थीदेखि वामपन्थीसम्मले उसको आलोचना गर्ने गरेका छन्।

गत वर्ष भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि ट्वीटरले ‘हिंसाका लागि उत्तेजना फैलाएको’ भन्दै प्रतिबन्ध लगाएको थियो। सम्भवतः त्यो नै सबैभन्दा शक्तिशाली प्रयोगकर्तामाथिको प्रतिबन्ध थियो।

मस्कले उक्त कम्पनी लिएको खबरले अमेरिकी दक्षिणपन्थीहरूलाई खुशी बनाएको छ। यद्यपि सोमबार फक्स न्यूजसँग बोल्दै ट्रम्पले पुनः आफू ट्वीटरमा फर्कने मनशाय नरहेको बताएका थिए। ह्वाइट हाउसले उक्त किनबेचबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

यद्यपि प्रवक्ता जेन साकीले संवाददाताहरूलाई लामो समयदेखि राष्ट्रपति ठूला सामाजिक सञ्चाल कम्पनीहरूको शक्तिबारे चिन्तिन रहेको तर ट्वीटर कसको स्वामित्वमा रहन्छ भन्ने कुरा गौण भएको बताइन्।-बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here