स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ४७ हजार नाघ्यो, कुन प्रदेशमा कति उम्मेदवार ?

काठमाडौं, १३ वैशाख । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेद्वारी दर्ता गरेकाहरुको संख्या सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवार दिउँसो (दिउँसो ३:१५) सम्ममा मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४७ हजार २ सय ७४ जना रहेका छन् । तर, आयोगले सार्वजनिक गरेको संख्या प्रणाली प्रविष्ट भएको संख्या मात्रै हो ।

आयोगले जनाएअनुसार ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो ।

सबैभन्दा बढी मधेश प्रदेशमा परेको आयोगले जनाएको छ । आयोगले जनाएअनुसार मधेश प्रदेशमा ३८ हजार ७ सय ८७ जनाले मनोनयन दर्ता गरेका छन् ।

मधेश पछि सबैभन्दा बढी बागमती प्रदेशमा २४ हजार ३३ जना, लुम्बिनी प्रदेशमा २३ हजार ४९ जना र प्रदेश १ मा २२ हजार ५ सय ४२ जनाले मनोनयन दर्ता गराएका छन् ।

कर्णाली प्रदेशमा १३ हजार ४ सय ७ जना, गण्डकी प्रदेशमा १२ हजार ७ सय ८७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६ सय ७३ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here