वाणिज्य बैंकहरुको निक्षेप संकलन एक हप्तामै १० अर्ब घट्यो, ऋण प्रवाह शून्य

काठमाडौं, १३ वैशाख । पछिल्लो हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलन घटेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा एक हप्तामै १० अर्ब निक्षेप घटेको हो । वैशाख २ गते सम्म कुल निक्षेप ४३ खर्ब ७७ अर्ब पुगेकोमा बैशाख ९ सम्म आइपुग्दा घटेर ४३ खर्ब ६७ अर्बमा झरेको छ।

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । यस अवधिमा यी बैंकहरुको कर्जा प्रवाह एक अर्ब रुपैयाँले घटेको हो ।

बैशाख २ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह घटेर बैशाख ९ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले आयातमा कडाई गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढ्न थालेको थियो। सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको थियो।

वाणिज्य बैंकहरुमा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो। भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो। बढेको निक्षेप पुनः घट्न थालेको हो।

गत फागुन ३० गतेसम्म ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा बैशाख १ गतेसम्म ४३ खर्ब ७७ अर्ब पुगेको थियो। यता ऋण प्रवाह भने गत फागुनसम्म ४१ खर्ब ७२ अर्ब रहेकोमा बैशाख १ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको थियो।