ई–सिम सञ्चालनमा ल्याउने टेलिकमको घोषणा, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ।

यस सम्बन्धी सम्झौता पत्रमा गत आइतबार (२०७९ वैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको छ।

सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई-सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ-नयाँ प्रविधि भित्र्याउने क्रममा ई-सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै प्रारम्भ हुने विश्वास व्यक्त गरे।

अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई-सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। यो उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन।

यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ। यसबाट फोन गर्ने र डेटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।

ई-सिम प्रयोगमा आए पश्चात सिम कार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ।

हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई-सिम लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here