प्रहरी महानिरीक्षक विवाद: सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, २२ वैशाख । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार र बिहीबारको सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सरकारले पहिलो वरीयतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाइ तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए। उक्त रिटको पहिलो दिनमै सरकारी पक्ष हस्तक्षेप बहसका लागि पुगेपछि दोहोरो सुनुवाइ भएको हो।

वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नवनियुक्त आइजिपी सिंहलाई काम गर्न कुनै बाधा नपर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here