काठमाडौं, १२ जेठ । अमेरिकी म्यागजिन ‘फोर्ब्स’ ले प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । फोर्ब्सले सार्वजनिक गरेको ३० वर्षमुनिका ३० जना एसियाली युवाहरूको सूचीमा पाँच जना नेपाली समेटिएका छन् ।
फोर्ब्सको सूचीमा समेटिएकाहरूमा एक महिलासहित पाँच जना छन् । ऐश्वर्य रानी सिंह, सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे यो सूचीमा समेटिएका हुन् ।
इनग्रेल नेपालका सह संस्थापकसमेत रहेका २९ वर्षिय सुजित पाठक कञ्जुमर टेक्नोलोजीबाट यो सूचीमा पर्न सफल भएका हुन् । इनग्रेल नेपालले नेपालका आठ सय भन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्याइसकेको छ ।
अर्का २७ वर्षिय युवा सुमित दाहाल नासा गोडार्ट स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टर एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् । उनले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन् ।
नीरज काफ्ले र सन्तोष पाण्डे काठमाडौंमा उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्दै आएको अफरिङ ह्यापिनेसका संस्थापकहरू हुन् । २८ वर्षिय निरज र २५ वर्षिय सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सञ्चालनमा ल्याएका थिए ।
उक्त सूचीमा पर्न सफल अर्की युवा हुन्, ऐश्वर्य रानी सिंह । २८ वर्षिया सिंह सोसल इम्प्याक्ट विधाबाट यो सूचीमा परेकी हुन् ।
उनी महिनावारी स्वच्छतामा क्रियाशील संस्था पुतली नेपालको संस्थापक बोर्ड अध्यक्षसमेत हुन् । उक्त संस्थाले महिनावारीका बेलामा महिलाहरुलाई मेन्सुरल कप तथा प्याडको प्रयोगमा प्रोत्साहन गर्छ ।
गतवर्ष नेपालबाट दुईजना नेपाली उक्त सूचीमा परेका थिए । वित्तिय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला र पौडी खेलाडी गौरिका सिंह अघिल्लो वर्ष फोर्ब्सको प्रभावशाली सूचीमा परेका हुन् ।