फोन पे डिजिटल इकोनोमी कन्क्लेभ जेठ २० मा

काठमाडौं । आगामी जेठ २० गते ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ आयोजना हुने भएको छ। मुलुकको अर्थतन्त्रको डिजिटाइजेशनको तीव्रतालाई मध्यनजर गर्दै ब्रान्डवर्थ प्रालिले यो कन्क्लेभ आयोजना गर्न लागेको हो।

नेपालमा डिजिटल प्रविधिका अनेकौं आयाम जस्तै ई-कमर्श, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदि तीव्र रूपमा फैलिंदै गएका छन्।

डिजिटाइजेशनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीबारे सरोकारवालालाई एकै छानामुनि सहभागी बनाएर बृहत् छलफल गर्न कन्क्लेभ आयोजना गर्न लागिएको आयोजक कम्पनीले जनाएको छ।

कन्क्लेभमा ‘बदलिंदो समय, बदलिंदो अर्थतन्त्र’, ‘क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट’, ‘नेपाल-साना बजार कि असीमित सम्भावना?’ तथा ‘नेपाली युनिकर्न कहिले?’ विषयमा चार सत्रमा सघन अन्तरक्रिया र बहस हुनेछ। यी सत्रमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवाला-नियमनकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ।

कन्क्लेभमा भिसाको दक्षिणएशिया र भारतका लागि ग्रूप कन्ट्री म्यानेजर सन्दीप घोष तथा नेपाल राष्ट्र ब्यांकका गर्भनर महाप्रसाद अधिकारीद्वारा की-नोट स्पीच प्रस्तुत हुने कार्यक्रम छ। नेपालको डिजिटल विकासबारे अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको बेग्लै सत्र समेत हुनेछ।

काठमाडौंस्थित होटल सोल्टीमा आयोजना हुने कन्क्लेभ देशका प्रमुख अनलाइन तथा टेलिभिजन च्यानलका साथै अन्य डिजिटल प्लेटफर्म मार्फत प्रत्यक्ष प्रसारण हुनेछ। फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रूपमा भिसा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here