‘बजेट स्वदेशी उद्योगको हितमा छैन्, घिउ-तेल उत्पादकलाई संकटतर्फ धकेल्यो’

काठमाडौं । नेपाल वनस्पती घिउ, तेल उत्पादक संघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट स्वदेशी उद्योगको हितमा नआएको भन्दै विरोध जनाएको छ ।

सरकारले बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरेकाले त्यसले स्वदेशी उद्योगलाई गम्भीर एंव दीर्घकालीन असर गर्ने भन्दै संघले विरोध गरेको हो ।

बजेटले चाउचाउ, बिस्कुटजस्ता विशेष उद्योगलाई प्रशोधित पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत मात्रै भन्सार महसुल कायम गरेको भन्दै संघले विरोध जनाएको हो ।

संघले तेल उद्योगहरुले ल्याउने कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको तर बिस्कुट, चाउचाउ उद्योगका लागि भन्दै पाम र पामोलिन तेल आयातका लागि ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकिनु नै विरोधाभाषपूर्ण रहेको जनाएको छ ।

प्रशोधित सबै प्रकारका तेल आयातमा यसअघि १५ प्रतिशत महसुल तोकिएकोमा अहिले बजेटले सीमित केहीलाई लाभ हुनेगरी बिस्कुट, चाउचाउ उद्योगका लागि भन्दै ५ प्रतिशतमा झारेपछि संघले स्वदेशी उद्योगलाई संकटतिर धकेल्ने बताएको छ ।

प्रशोधितभन्दा कच्चा पदार्थको भन्सार शुल्क एक तह कम हुने सरकारी नीति नै यो व्यवस्थाले उल्लंघन हुने संघको धाराणा छ । ‘उपभोक्तालाई प्रत्यक्ष रुपमा राहत दिनका लागि खाने तेलको महसुल दर कम गर्नुको सट्टा अन्य उद्योगलाई कम महसुल दरमा तयारी खाने तेल आयात गर्न दिने नीति विवेकपूर्ण छैन,’ संघले भनेको छ ।

यो व्यवस्थाले कच्चा पदार्थ भन्दा बढी मूल्यमा तयारी माल सामान आयात हुने र स्वदेशी उद्योग संकटतिर जाने संघको ठम्याइ छ ।अर्कोतर्फ यो व्यवस्थाले साबुन उद्योगलाई समेत असर पार्ने संघले जनाएको छ ।

स्वदेशी तेल उद्योगले तेल प्रशोधन गर्दा निस्कने फ्याटी एसिड साबुन उद्योगलाई कच्चा पदार्थ हुने गरेको तर अब स्वदेशी तेल उद्योग नै सञ्चालन हुन नसक्ने अवस्था आउँदा साबुन उद्योगलाई कच्चा पदार्थ अभाव हुने घिउ तेल उत्पादक संघको दावी छ ।

नेपालबाट यस आर्थिक वर्षको वैशाख मसान्तसम्म १० महिनामा ८७.६० अर्ब बराबरको वनस्पति तेल भारत निकासी भएको संघले जनाएको छ । अब यो बजेटका कारण यसमा उल्लेख्य कमी आउने संघले चेतावनी दिएको छ । साथै संघले यो व्यवस्था अविलम्ब सच्याउन पनि माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here