नेपालको उडान सुरक्षामा पहाडदेखि चरासम्मको चुनौती, व्यवस्थापनमा लापरवाही

काठमाडौं २७ जेठ । नेपालको उडान सुरक्षामा पहाडदेखि चरासम्मले चुनौती दिने गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक छानविन समितिले हवाई सुरक्षाका विविध पाटोको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार नेपालको उडान सुरक्षामा मौसम, अग्ला पहाडदेखी चरा र जनावरले समेत चुनौती दिने गरेका छन् । नेपालमा हुने दुर्घटनामध्ये एक तिहाइ दुर्घटना पहाडमा ठोक्किएर हुने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको प्रतिवेदनमा उल्लेख छ ।

समितिका अनुसार हवाई दुर्घटनाको घटनामध्ये ३३ प्रतिशत पहाडमा ठोक्किएर भएका छन् । सन् २०११ देखि २०२० सम्म भएका ३५ वटा दुर्घटनामा ५० प्रतिशत धावनमार्गबाट बाहिर गएर भएको देखिएको छ । यस्तो अवस्थामा मानवीय क्षति कम हुन्छ । तर, पहाडमा ठोक्किएर भएको दुर्घटनामा मानिसले ज्यान गुमाउनु परेको छ ।

१७ प्रतिशत दुर्घटना उड्दा उड्दै नियन्त्रण गुमाएर भएको देखिएको छ । प्रतिवेदन अनुसार हवाई सुरक्षामा वायुसेवा कम्पनीसँगै प्राधिकरणले समेत लापरवाही गर्ने गरेको पाइएको छ । विमानस्थल सुरक्षामा गम्भीर बन्न नसक्दा चरा र जनावरका कारण समेत जहाजहरु दुर्घटनामा परिरहेको देखिएको छ ।

पछिल्लो तीन वर्षको तुलना गर्दा सन् २०२१ मा त्रिभुवन विमानस्थलमा मात्र चराका कारण २१ वटा घटना भएका छन् । पोखरामा ५, भरतपुर, जनकपुर र विराटनगरमा ४/४, नेपालगञ्जमा ३, चन्द्रगढीमा २ र लुक्ला, भैरहवा, बाजुरा, सुर्खेत, धनगढी, राजविराज र सिमरामा १/१ घटना चराका कारण भएको छ ।

जनावरको बढी गतिविधि भने नेपालगञ्ज र भैरहवामा देखिएको छ । सन् २०२१ मा नेपालगञ्जमा ५, भैरहवा र विराटनगरमा ४/४, चन्द्रगढी, भरतपुर, जनकपुर र सिमरामा १/१ वटा घटना भएका छन् । वायुसेवा कम्पनीले जनशक्ति व्यवस्थापनमा उल्लेख्य ध्यान दिन नसकेको पाइएको छ । त्यसमा हेलिकप्टरको भूमिका कमजोर देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here