मौद्रिक नीतिको त्रासमा लगानीकर्ता: नेप्सेमा गिरावट कायमै, एक अर्ब पनि पुगेन कारोबार

काठमाडौं, २७ जेठ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २२९ कम्पनीको ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । विहीवार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटा समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.०२ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, होटल, विकास बैंक, फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा ग्रीन भेञ्चर लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । ग्रीन भेञ्चर लिमिटेडको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८२९.६० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २७१.२० रुपैयाँ पुगेको छ ।

घट्दो बजारमा आज सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५.७५ प्रतिशत गुमाएका छन् ।

आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक ४ करोड र मेगा बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

मौद्रिक नीतिमार्फत शेयर बजारमा झनै कसिलो नीति आउने त्रासमा लगानीकर्ता देखिएकाले बजार दिनप्रतिन घट्दै गएको आंकलन गरिएको छ । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here