काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। एसईई बोर्डले बुधवार नतिजा सार्वजनिक गरेको हो ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका बोर्डले जनाएको छ । परीक्षमा सहभागी ९ हजार ६३३ परीक्षार्थीहरुले ३.६ देखि ४ जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। यो कूल परीक्षार्थीको १.९४ प्रतिशत हो।
यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ ।
यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ । परीक्षामा २२ हजार ६४० जना अनुपस्थित रहेको थियो ।
यस्ता छन् नतिजा हेर्ने सजिलो तरिका
विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा एसएमएस पठाएर थाहा पाउन सकिने छ ।
त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्तालर १६०० डायल गरेर पनि आफ्नो एसईईको नतिजा थाहा पाउन सक्ने छन् । यी बाहेक विभिन्न वेबसाइट र एपबाट समेत एसईईको नतिजा थाहा पाउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको एसईईको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, खल्ती, निमा एकेडेमी, इकान्तिपुर डटकम, दि कनेक्ट प्लस, इडियु सञ्जाल, नेपाल टेलिकम र रिडर्स पोइन्टको वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने छ ।
एसईईको नतिजा सार्वजनिक, यस्ता छन् नतिजा हेर्ने सजिलो तरिका