काठमाडाै, ७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गरेका छन् ।
सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्चअधिकारी र नेपाल आयल निगमका अधिकारी रहेका छन् ।
वीरगञ्जको अलौँस्थित एकीकृत जाँच चौकी (आइसिपी) हुँदै भारततर्फ जाने क्रममा मन्त्री यादवले भन्सारका कर्मचारीहरुलाई निर्देशन दिने क्रममा कर्मचारीहरु राजश्व उठाउनेतर्फ सक्रिय हुनुपर्ने बताए । उनले सङ्घीय सरकार क्रमागत रुपमा एकीकृत जाँच चौकीको पूर्वाधार विकासका लागि कटिबद्ध रहेको बताउनु भएको प्रमुख भन्सार अधिकृत श्यामप्रसाद भण्डारीले बताए ।
मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ । विहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा एक हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएकाले अब उद्घाटनको पर्खाइमा रहेको आयोजना कार्यालय सिमराले जनाएको छ ।
‘अमलेखगञ्जमा राखिएको ट्याङ्कीमा डिजल पठाउन पटनामा तयारी गरिएको छ र ‘स्वीच अन’ गरेपछि सो डिजल अमलेखगञ्ज आउनेछ’, आयोजनाका इञ्जिनीयर शरदकुमार पौडेलले भने ।
यसअघि सो पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो । पटनाबाट आइपुगेको डिजल गत शुक्रबार एक कार्यक्रमबीच परीक्षण गरिएको छ । शुरुमा पाइपलाइनबाट साढे ६ सय किलोलिटर पानी र एक हजार किलो लिटर डिजल पठाएर परीक्षण गरिएको जनाइएको छ ।
प्राप्त समाचारअनुसार परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो । सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि विहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ । कूल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर लम्बाइ रहेको छ ।
विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौता अन्र्तगतको सो पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा चार हजार किलोलिटर डिजल ल्याउने क्षमता रहेको छ ।
अमलेखगञ्जस्थित आयल निगमको डिपोमा कूल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिने ट्याङ्कर निर्माण गरिएको छ । सो पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा गर्ने तय भए पनि मिति तोक्ने प्रक्रिया शुरु भएको सिमरा कार्यालयले जनाएको छ । (रासस)