राइड सेयरिङ कम्पनी भन्छ-‘ गुगल म्याप हेर्न असजिलो हुन्छ, मोबाइल होल्डर हटाउने निर्णय सच्याउनुहोस्’

काठमाडौं, १६ भदौं । अब मोटरसाइकलमा मोबाइल होल्डर राखे कारबाही हुने भएको छ ।

राइडिङ एण्ड सेयरिङ कम्पनीमा आबद्ध मोटरसाइकल चालकलगायत युवाहरुले मोबाइल स्ट्यान्ड, गो प्रो स्ट्याण्ड राखेर हिँड्दा दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरी कार्यालयले कारबाही गर्ने भएको हो ।

कानून बमोजिम निर्माण भइसकेका मोटरसाइकल र स्कुटरमा कुनै वस्तु थप्नु वा हटाउनु मोडिफिकेसन भएको भन्दै ट्राफिक प्रहरीले हटाउन सुरु गरेको छ।

तर, राइड सेयरिङ कम्पनीहरुले भने आफ्ना राइडरहरुलाई गुगल म्याप हेर्न असजिलो हुने भन्दै निर्णय सच्याउन आग्रह गरेका छन्।

‘प्रहरीको आदेश बमोजिम हामीले उक्त सूचना हाम्रा राइडर र फुडम्यान साथीहरूलाई गत सोमबारदेखि जानकारी गराएका छौं। तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्न कठिनाइ भएको भन्दै गुनासो आइरहेको छ।

सुझाव र गुनासोलाई सम्बन्धित निकायले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछौं,’ पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

अहिले बाटोमा मोबाइल हेर्दै मोटरसाइकल तथा स्कुटर चलाउने बढेकोले दुर्घटनासमेत बढ्न थालेकोले यसरी गैह्रकानुनी तरिकाले स्ट्याण्ड प्रयोग गर्ने चालकलाई ५०० देखि २ हजारसम्म जरिवान गर्ने व्यवस्था यातायात कानुनमा रहेको छ ।

ट्राफिक प्रहरीले अहिले चालकलाई सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको भएपनि चाँडै सिधै कारबाहीको अभियान चलाउन लागिएको ट्राफिक प्रहरी प्रवक्ता रोजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ट्राफिक प्रहरीले यातायात कार्यालयलाई न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here