पाँच वर्षमा एमालेले के-के गर्छ ? यस्ता छन् महत्वाकांक्षी आश्वासन

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कर्पोरेट हाउसको नयाँ प्रोडक्ट लञ्चको शैलीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हात स्क्यान गरेर डिजिटल रूपमा घोषणपत्र सार्वजनिक गरिएको हो ।

भोकमरीको अन्त्य, असुरक्षित बसोबास स्थानान्तरणसहितका २० ग्यारेन्टी भन्दै योजना प्रस्तुत गरेका ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा कि विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नेसहितका ६ प्रश्न जनतालाई सोधेका छन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।

करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

जसमा आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने बताएका छन् । नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेको छ ।

त्यस्तै नेपालमा देखिएको नागरिकताको समस्या दुई वर्षभित्र समाधान गरिसक्ने बताएको छ। एमालेले अहिले देशमा देखिएको नागरिकताको समस्या आफ्नो नेतृत्वमा सरकार बनेको एक महिनाभित्रै समाधान थाल्ने जनाएको छ।

‘नेपालीलाई मात्र हाम्रा काम हुनेछन्। राष्ट्रिय गौरव बढाउन र सबै नागरिककको जीवनस्तर उकास्न लागिनेछ’, घोषणा पत्र भनिएको छ, ‘सरकार गठन भएको एक महिनाभित्र वंशजको नागरिकता दिइनेछ।

दुई वर्षभित्र नागरिकता समस्या समाधान गर्ने छौँ। सरकार बनेको एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ।’ एमालेले पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ।

एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ। समृद्धिसम्मको नाता सबैको बैंक खाता नारा समावेश गर्दै एमालेले २ वर्षमा सबैको बैंक खाता हुने प्रतिबद्धता व्यक्त गरेको छ।

यस्ता छन् ३० कार्यक्रम

-हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र

-दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर

-भूमिको वैज्ञानिक व्यवस्थापन : प्रकृति संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान

-कृषि भूमिमा पानीः सिँचाइमा लगानी

-सहकारीबाट व्यवसाय प्रवर्द्धनः नागरिकको आर्थिक उन्नयन

-औद्योगीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण

-पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति

-वन र वातावरणको संरक्षणः जलवायु अनुकूलन र विपद् व्यवस्थापन

-स्वच्छ खानेपानी जनताको हक

-विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि

-राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार

-हाम्रो नेपालः निरोगी नेपाल

-मर्यादित श्रमः सुरक्षित रोजगारी

-जीवनचक्रमा आधारित सामाजिक सुरक्षाः मौलिक हकको रक्षा

-शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय

-राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा

-महिला सहभागिता र सशक्तीकरण

-सहरी विकास : एकीकृत बस्ती र सुरक्षित आवास

-गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विस्तार

-स्रोत साधनको परिचालन, योजना कार्यान्वयन र दिगो विकास

-जनताको कर : जनताकै लागि

-सूचना प्रविधि र प्रेस स्वतन्त्रता

-सुशासनः हाम्रो उच्च प्राथमिकता

-उपभोक्ता हितः आम जनताको हित

-सक्षम र सुदृढ सङ्घ, अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार

-स्वच्छ, सुन्दर र आधुनिक राजधानी

-सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता

-सक्षम राज्य, स्वतन्त्र न्यायालय

-सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा

-स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध

यस्तो छ एमालेको चुनावी घोषणापत्र