रामदेवको कम्पनीले उत्पादन गर्ने पाँचवटा औषधिमाथि प्रतिबन्ध

काठमाडौं । भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको कम्पनीद्वारा उत्पादित औषधिमा प्रतिबन्ध लगाएको छ।

उत्तराखण्डमा रामदेवको कम्पनीका पाँचवटा औषधिको उत्पादनमा प्रतिबन्ध लगाइएको छ । कम्पनीलाई ‘भ्रामक विज्ञापन’ गरेको आरोप लागेपछि यो कारबाही गरिएको हो ।

उत्तराखण्ड आयुर्वेदिक एण्ड युनानी सर्भिसेजका लाइसेन्स अधिकृत डा जीसीएस जङ्गपाङ्गीले जारी गरेको पत्रमा फार्मेसीलाई दिव्या मधुग्रित, दिव्यायाग्रिट गोल्ड, दिव्या थाइरोग्रिट, दिव्या बीपीग्रिट र दिव्या लिपिडोम औषधिको उत्पादन तत्काल बन्द गर्न भनिएको छ।

अङ्ग्रेजी पत्रिका द हिन्दूको रिपोर्टका अनुसार उत्तराखण्डको आयुर्वेदिक र युनानी सेवाका अधिकारीहरूले पतञ्जलीका उत्पादनहरू बनाउने दिव्या फार्मेसीलाई पाँचवटा औषधिको उत्पादन रोक्न भनेका छन्। यससँगै कम्पनीलाई यी पाँच उत्पादनका विज्ञापन मिडियाबाट फिर्ता लिन पनि भनिएको छ ।

द हिन्दूको रिपोर्ट अनुसार योग गुरु रामदेवको पतञ्जली कम्पनीअन्तर्गत पर्ने यो फार्मेसीले बारम्बार ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’ को उल्लंघन गरेको पाइएको थियो ।

यी औषधिहरू मधुमेह, आँखाको संक्रमण, थाइराइड, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्न प्रयोग गरिन्छ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here