निर्धन उत्थान लघुवित्तको खराब कर्जा ७ प्रतिशत नाघ्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८३.८८ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ३ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा २० करोड १९ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा घट्दा लघुवित्तको खुद नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.९६ प्रतिशत घटेर ४८ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ८३.८८ प्रतिशतले घटेर ४ करोड ६५ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले १८ अर्ब ४८ करोड निक्षेप संकलन र ५ अर्ब ९४ करोड सापटी लिई कुल २६ अर्ब ८८ करोड ऋण लगानी गरेको छ । हाल २ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ७८ करोड ९७ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ संचित छ ।

नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४७.६५ रुपैयाँबाट घटेर ५.९३ रुपैयाँमा झरेको छ ।

यस्तै, प्रतिसेयर नेटवर्थ ११७.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५३.६४ गुणा र खराब कर्जा दोब्बरले बढेर ७.१४ प्रतिशत पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here