विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले पाए, कुल कर्जा २ करोड ४ लाख मात्र

काठमाडौं १४, साउन । सहुलियतपूर्ण ब्याजदरको विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले मात्र पाएका छन् । यो कार्यक्रम अन्तरगत आठ महिनाको अवधिमा ३२ युवालाई २ करोड ४ लाख ६५ हजार रुपैयाँ सहुलियत दरको कर्जा वितरण भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

रोजगारका लागि विदेशीने नागरिकलाई स्वदेशमै रोक्नुका साथै उद्यमशिलता विकास गर्ने उद्देश्यले सरकारले विदेशबाट फर्केका युवा कर्जा कार्यक्रम ल्याएको थियो ।

गत जेठसम्म विदेशबाट फर्केका युवा कर्जा कार्यक्रम अन्तरगत बैंकले कुल २ करोड ३१ लाख ५० हजार रुपैयाँ बराबरको ऋण स्वीकृत गरेका छन् । त्यसमध्ये २ करोड ४ लाख रुपैयाँ मात्र लगानीमा रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । कार्यविधिमा व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा गरी सात किसिमको कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था ल्याएको थियो ।

गत वैशाखसम्म कुल १६ हजार २३ ऋणीले २७ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । यो सातवटै शीर्षकमा सबै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण हो । जसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा मात्र २७ अर्ब ४२ करोड रुपैयाँ प्रवाह भएको छ ।

ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षसम्मको छ । कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार बैंक तथा वित्तीय संस्थाले तोक्न सक्ने छुट पनि सरकारले दिएको छ ।

कार्यविधिअनुसार सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा २ प्रतिशत विन्दभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ ।

यो शिर्षक अन्तरगत ब्याज अनुदानको ऋण प्राप्त गर्ने व्यक्ति विदेशबाट फर्केके बढीमा तीन वर्ष हुनुपर्ने छ । र त्यसको प्रमाणीकरण वैदेशीक रोजगार विभागबाट गराउनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here