३०८० मतदान स्थल अतिसंवेदनशील, दोलखा, कैलाली र बाजुरामा छुट्टै ‘कमाण्डो दस्ता’ परिचालन

काठमाडौं । निर्वाचन आयोगले १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ ।

कैदी, कर्मचारी, सुरक्षाकर्मी र वृद्धाश्रममा रहेकालाई मतदान गर्न १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । तोकिएका मतदान स्थलमध्ये करीब १ तिहाईलाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

गृह मन्त्रालयका अनुसार ३ हजार ८० अतिसंवेदनशील, ४ हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ लाई कम संवेदनशील मतदानस्थलको सूचीमा राखिएको छ ।

ती मध्ये मतदान अधिकृत र मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई दबाब र प्रभावमा पारी दलका कार्यकर्ताले बुथ कब्जा तथा फर्जी मतदान गर्नसक्ने जोखिम औंल्याउँदै प्रहरी प्रधान कार्यालयले दोलखा, कैलाली र बाजुरामा छुट्टै ‘कमाण्डो दस्ता’ परिचालन गरेको छ ।

दस्तालाई बर्दी र सादा पोसाकमा रेकी गर्न र आवश्यक परे बल प्रयोगबाट स्थिति नियन्त्रणमा लिने भनिएको छ । प्रहरीको यो दस्ता विशेष तालिम प्राप्त फौज हो ।

शनिबार मात्रै निर्वाचन आयुक्त रामप्रसाद अधिकारी, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दोलखाका अति संवेदनशील केही मतदान स्थलको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण गरिएका स्थानमै प्रहरी प्रधान कार्यालयले कमाण्डो टोली तैनाथ गरेको हो ।

यो जनशक्ति मतदान स्थलको सुरक्षामा खटिएका, मतदान स्थल बाहिर तैनाथ गस्ती तथा भैपरी काममा रिजर्भ राखिएका बाहेक हो । प्रहरी प्रधान कार्यालयले कार्यदलको जनशक्तिलाई विशेषगरी आतंक, दंगा, अपहरण, प्रकोप तथा असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन खटाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here