काठमाडौं, ७ मंसिर । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ बराबरको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । भने अन्य सबै ओरालो लागेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिभिल बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.३० रुपैयाँ पुगेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २०५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार स्टाण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।