खोटाङबाट माओवादीका रामकुमार राई विजयी, ह्याट्रिक जितबाट चुके विशाल भट्टराई

खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।

२०७० र ०७४ मा लगातार दुई कार्यकाल जितेको एमालेले यसपटक आफ्नो किल्ला गुमाएको छ। दुई कार्यकाल नै भट्टराईले जितेका हुन्। भट्टराई यसपटक जितमा ह्याट्रिक गर्ने तयारीमा थिए।

निर्वाचन परिणाम अनुसार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेसनल अर्गनाइजेसनका दीपक मगरले १३१ मत पाएका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र हो। राई २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा खोटाङ– १ बाट निर्वाचित भएका थिए। संविधान जारी भएपछि २०७४ को प्रदेशसभा निर्वाचनमा उनी खोटाङ १ (ख) बाट निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here