काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पार्टीले प्रतिनिधिसभा चुनावमा सफलता पाएको खबर भारतसम्म चर्चा पाएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकले रविको राजनीतिक सफलतालाई रोचक ढंगले प्रस्तुत गरेको छ ।
आजतक अनलाइनले लेखेको छ, अहिलेसम्म प्राप्त प्रवृत्ति र नतिजामा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिँदैन । राजनीतिक दलका सबै अनुमान र जनमत सर्वेक्षण, एक्जिट पोललाई झुटो साबित गर्दै नयाँ राजनीतिक दलले सबैको ध्यानाकर्षण गरेको छ ।
६ महिनाअघि मात्रै केही युवाले नेपालको राजनीतिको धार, चरित्र र अनुहार परिवर्तन गर्न सँगै चुनाव लड्ने घोषणा गरेका थिए । ‘प्राप्त नतिजामा कुनै दल वा गठबन्धनलाई स्पष्ट बहुमत मिल्ने आशा देखिँदैन । राजनीतिक दलका दाबीलाई झूटा साबित गर्दै एक नयाँ राजनीतिक पार्टीले सबैका लागि खतराको घण्टी बजाएको छ ।’
समाचारमा लेखिएको छ, ‘नेपालका २–४ प्रमुख दलका केही ठूला नेताको मुठ्ठी जकडिएको नेपालको राजनीतिलाई उनीहरूको चंगुलबाट मुक्त गराउनका लागि स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न लिएर पहिलोचोटी उम्मेदवारी दिएको थियो ।’
यसबाट उत्साहित भएर राजनीतिमा परिवर्तन चाहने केही युवाहरूले जनताको नाडी महसुस गर्दै परम्परागत र रुढीवादी राजनीतिक दलहरूबाट मुक्ति पाउने भोक बुझेर चुनावमा आफ्नो अगाडि नयाँ युवा अनुहार प्रस्तुत गरेका छन् ।
जसको नेतृत्व नेपालका चर्चित पत्रकार रवि लामिछानेले गरेका थिए । ६ यसअघि नेपालको निजी टिभी च्यानलमा जनतासँगको प्रत्यक्ष संवाद नामक चर्चित कार्यक्रम सञ्चालन गर्ने रवि सधैं युवा राजनीतिमा लागेका छन् ।


























