रवि लामिछानेले सार्वजनिक गरे प्रतिवद्धता पत्र, भोज खान र रिवन काट्न नजाने

फाइलफोटो

.
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च र प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले ११ लाख १८ हजार ४७२ रुपैयाँ खर्च भएको बताएका छन् । यसमा कार्यालय सामग्रीको खर्च भने नजोडिएको उनको भनाई छ ।

आजबाट खुसीयाली मनाउने सबै कार्यक्रम समेत रोकिएको उनले बताएका छन् । आफु उद्घाटन र भाषणमा नआउने समेत स्पष्ट पारेका छन् ।

उनले भोजभतेरमा समेत निम्ता नगर्न भनेका छन् । मिडियासँग आफु नबोल्ने र यो काम प्रवक्ताले गर्ने समेत उनको भनाई छ । हरेक ४\४ महिनामा सार्वजनिक सुनुवाई हुने र त्यसमा आफु उपस्थित हुने उनको भनाई छ । उनले सम्पत्ति विवरण समेत छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनको प्रतिवद्धता:

१. मेरो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन ।)

२. कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु ।

३. सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। ९पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन ।

४. भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला ।

५. मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ ।

६. प्रत्यक ४\४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु ।

७. कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला ।

८. औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु ।

९. सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन-११ स्थित घरमा राखिएको भन्नुहोस् के सेवा गरौ लेखिएको बाकसमा खसाउनु होला ।

१०. लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागी हुन म खोजी खोजी आउने छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here