काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा चनाखो रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
समाजिक सञ्जाल मार्फत उनले यस्तो निर्देशन दिएका हुन् ।
ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत नकट्ने भएकाले गठबन्धनकै अर्को दलमा जोड्ने जस्ता कार्य हुनसक्ने भन्दै पार्टी पङ्क्तिलाई सजग रहन निर्देशन दिएका हुन् ।
‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ।
एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्नेजस्ता गलत कार्य पनि हुनसक्छ।
जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस्। मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,’ उनले समाजिक सञ्जालमा लेखेका छन्।