उदयपुर-१ र सुनसरी-४ मा मतगणना अन्योल, दोलखाका १० केन्द्रमा १५ गते पुनः निर्वाचन

फाइलफोटो

काठमाडौं । दोलखामा रद्द भएका १० केन्द्रमा यही बिहीबार पुनः मतदान हुने भएको छ। सोमबार बिहान बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले यही १५ गते मतदान गराउने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले मंसिर १५ भित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बैठकको निर्णयसँगै सोमबारदेखि नै निर्वाचनको तयारी थालेको जानकारी दिए।

सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को चुनाव रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालीढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।

यही मंसिर ४ गते भएको मतदानका क्रममा ‘बुथ क्याप्चर’ भएको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए। यससँगै आयोगको टोलीले गएर स्थलगत अध्ययन गरी पुनः मतदान गराउनुपर्ने निष्कर्ष निकालेको थियो।

यसैका आधारमा आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

त्यस्तै मत गणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन ।

उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन ।

सुनसरी-४ मा बराहक्षेत्र-८ को मतगणना हुँदै गर्दा मतपेटिकाभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको भन्दै कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आरोप लगाएपछि गणना स्थगित भएको थियो ।

उदयपुर-१ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here